दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर स्थित श्री शिवशक्ति कृषि सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक आय–व्यय तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुका साथै नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
संस्थाका अध्यक्ष केशवलाल सिंहको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिका–८ का वडाध्यक्ष मोदकुमार महतो (मोदी) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा संस्थाका सहप्रबन्धक राजेशप्रसाद सिंहले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक आय–व्यय तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै उक्त आर्थिक वर्षमा संस्थाले ५ लाख ७० हजार ५ सय ७६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिनुभयो ।
प्रस्तुत प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा संस्थाको कुल आम्दानी २४ लाख ९४ हजार ४ सय ९३ रुपैयाँ रहेको छ भने विभिन्न शीर्षकमा १९ लाख २३ हजार ५ सय १७ रुपैयाँ खर्च भएको छ । हाल सहकारीमा ८५ जना महिला र २०१ जना पुरुष गरी कुल २ सय ८६ जना सदस्य आबद्ध रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष मोदकुमार महतो (मोदी) ले सहकारी संस्थाहरू ग्रामीण क्षेत्रका नागरिकको आर्थिक तथा सामाजिक विकासका महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाएर सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । साथै, संस्थाको प्रगति र दिगोपनाका लागि सञ्चालक समिति तथा सदस्यहरूबीच आपसी सहकार्य र विश्वास आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी विशिष्ट अतिथि तथा श्री माध्यमिक विद्यालय दिगम्बरपुरका प्रधानाध्यापक वृजभूषण कुशवाहाले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूमा सामाजिक चेतना, वातावरण संरक्षण र लागुऔषध दुव्र्यसनविरुद्धको जागरण फैलाउन सहकारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष केशवलाल सिंहले संस्थाको स्थापना र विकासमा सदस्यहरूको योगदान महत्वपूर्ण रहेको बताउँदै संस्थालाई यहाँसम्म पु¥याउन सहयोग गर्ने सम्पूर्ण सदस्य, सञ्चालक समिति तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले संस्थाको आर्थिक पारदर्शिता, सदस्यहरूको हित र सहकारीको संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि सदस्यहरूको विश्वास कायम राख्दै सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१५औँ वार्षिक साधारणसभाको अवसरमा सहकारीले आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूबीच ’लागुऔषध दुव्र्यसन र वातावरण परिवर्तन’ विषयमा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरेको थियो । श्री माध्यमिक विद्यालय दिगम्बरपुरको सभाहलमा सम्पन्न प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई उपस्थित अतिथिहरूले प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गरेका थिए । प्रतियोगिताले विद्यार्थीहरूमा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणप्रति जिम्मेवार बन्न प्रेरित गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक वृजभूषण कुशवाहा, समाजसेवी किशुनदेव महतो, संस्थाका प्रबन्धक राजकमल महतो, स्थानीय राजेन्द्रप्रसाद सिंह, सियाशरण महतो, मन्दीप महतो लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा क्षिरेश्वरनाथ नगरपालिका नगर प्याब्सनका अध्यक्ष महेश महतो लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन स्थानीय बुद्धिजीवी रामसिठ महतोले गरेका थिए ।
यसैबीच, उद्घाटन सत्र सम्पन्न भएपछि आयोजित बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा देवन किशोर महतो चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामसिठ महतो, कोषाध्यक्षमा मनोजकुमार सिंह, सचिवमा नवलकिशोर महतो तथा सदस्यहरूमा शान्तिदेवी, अमृतीदेवी र रामउदगार महतो चयन भएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा केशवलाल सिंह र सदस्यमा प्रमेश्वर सिंह चयन भएको छ । ऋण समितिको संयोजकमा राजेन्द्रप्रसाद सिंह तथा सदस्यमा चन्देश्वर महतो चयन भएको छ ।
साधारणसभाले संस्थाको आर्थिक प्रगतिको समीक्षा गर्नुका साथै नयाँ नेतृत्व चयन गर्दै आगामी दिनमा सहकारीलाई थप पारदर्शी, व्यवस्थित र सदस्यहरूको हितमा केन्द्रित बनाएर अगाडि बढाउने अपेक्षा व्यक्त गरेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग