महेन्द्रनगर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र ‘ॐ शान्ति भवन’ को १०औँ वार्षिकोत्सव तथा विजयादशमी २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र महेन्द्रनगरको आयोजनामा सम्पन्न कार्यक्रममा जनकपुर क्षेत्रीय सञ्चालिका ब्रह्माकुमारी सृजना दिदीको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दीप प्रज्वलन तथा केक काटेर केन्द्रको १०औँ वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सुखदेव यादवले यस्ता आध्यात्मिक संस्थाले समाजमा शान्ति, सद्भाव, सकारात्मक सोच र नैतिक मूल्यमान्यता स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले चाडपर्वले समाजमा आपसी प्रेम, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै विजयादशमीको शुभकामना दिनुभयो । त्यसैगरी, क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमाले नगर कमिटीका अध्यक्ष अनिल कुमार चौधरीले आध्यात्मिक ज्ञान र सकारात्मक चिन्तनले व्यक्तिको जीवनमा अनुशासन तथा सामाजिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पु¥याउने धारणा राख्नुभयो । उहाँले समाजमा शान्ति र एकता कायम गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अवध किशोर यादवले स्थानीय स्तरमा आध्यात्मिक तथा सामाजिक गतिविधिले समुदायबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बताउँदै केन्द्रको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी, महेन्द्रनगर सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी गुलाब दिदीले केन्द्रले आध्यात्मिक जागरण, राजयोग ध्यान तथा सकारात्मक सोचको विकासका लागि गर्दै आएका गतिविधिबारे प्रकाश पार्नुभयो । उहाँले कार्यक्रममा उपस्थित अतिथिहरू तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा ब्रह्माकुमार जगदीश भाइजी, ब्रह्माकुमार नवीन भाइजी, क्षिरेश्वर उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह, स्थानीय बुद्धिजीवी दिनेश महतो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा महेन्द्रनगर सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी गुलाब दिदीले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । सो अवसरमा सहभागी अतिथिहरूलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ । वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रमले आध्यात्मिक जागरण, आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech