महेन्द्रनगर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ नयाँ बजारमा श्री श्री १०८ श्री दुर्गा पूजाको उपलक्ष्यमा आयोजना गरिएको पहलमानी खेलको विधिवत् उद्घाटन नेकपा एमाले क्षिरेश्वरनाथ नगर कमिटीका अध्यक्ष अनिल कुमार चौधरीले गरेका छन् । प्रत्येक वर्ष नयाँ बजार स्थित दुर्गा मन्दिर परिसरमा आयोजना हुँदै आएको दुर्गा पूजालाई यस वर्ष थप भव्य र आकर्षक बनाउन झिझिया प्रतियोगितासँगै पहलमानी खेलको आयोजना गरिएको हो । धार्मिक आस्था र स्थानीय संस्कृतिको संरक्षण गर्नुका साथै खेलकुदको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष अवध किशोर यादव, स्थानीय बुद्धिजीवी ललित साहलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरूले प्रतियोगितामा सहभागी स्थानीय तथा छिमेकी देश भारतका पहलमानहरूसँग हात मिलाउँदै नगद रकम प्रदान गरी उनीहरूको हौसला बढाएका थिए । दुर्गा पूजाको अवसरमा आयोजना गरिएको पहलमानी खेलले स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक उत्सवको रौनक बढाउनुका साथै नेपाल र भारतका पहलमानहरूबीच आपसी सद्भाव र भाइचारालाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech