महेन्द्रनगर, धनुषा । तराई मधेशको मौलिक संस्कृति तथा परम्परासँग जोडिएको झिझिया कार्यक्रम घटस्थापनादेखि नै तराई मधेशका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा सञ्चालन भइरहेको छ । झिझिया कार्यक्रममार्फत स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास भइरहेको छ । यसैक्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ स्थित दुर्गा मन्दिर परिसरमा आयोजित झिझिया कार्यक्रममा सहभागी टिमहरूको हौसला बढाउन वडाका जनप्रतिनिधिहरूले आर्थिक सहयोग गरेका छन् । झिझिया कार्यक्रममा सहभागी प्रत्येक टिमलाई वडा नं. २ का वडासदस्य झबसीले १ हजार ५ सय रुपैयाँका दरले तथा वडाध्यक्षले २ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको जानकारी दिइएको छ । जनप्रतिनिधिहरूको यस सहयोगले झिझिया कार्यक्रममा सहभागी टिमहरूको उत्साह बढाउनुका साथै मौलिक संस्कृति संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमका क्रममा झिझिया टिमहरूलाई आफ्नो मौलिक परम्परा, संस्कृति र सांस्कृतिक मर्यादालाई ध्यानमा राख्दै प्रस्तुति दिन आग्रह गरिएको थियो । साथै, मौलिक संस्कृतिको संरक्षणमा जोड दिँदै उच्छृङ्खल गीतहरूमा नृत्य नगर्नसमेत अनुरोध गरिएको थियो । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्त्व स्थापित गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech