दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
साविक गाउँ विकास समिति (गा.वि.स.) रमदैया भवाडी–१, ५ र ९ तथा हाल क्षिरेश्वरनाथ नगरपालिका–२ अन्तर्गत गाउँब्लक जग्गाका जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ ।
नापी कार्यालय धनुषाको आयोजनामा संविधान दिवसको अवसर पारेर क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीस्थित श्री माध्यमिक विद्यालय रमदैया भवाडीको प्राङ्गणमा आयोजित कार्यक्रममा २४२ जना जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको हो ।
कार्यक्रम धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव र धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्का विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ का अध्यक्ष देवु यादव, नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत उमेशकुमार, टोली प्रमुख इन्जिनियर निरञ्जन यादव, वडा सदस्य झपसी साह, श्री माध्यमिक विद्यालय रमदैया भवाडीका प्रधानाध्यापक मनोजकुमार महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य सञ्जय मण्डल, नापी कार्यालयका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले नापी कार्यालयका कर्मचारीको सक्रियतामा गाउँब्लक जग्गाधनीलाई प्रमाण पुर्जा वितरण गर्ने कार्यमा धनुषा जिल्ला अग्रस्थानमा रहोस् भन्ने अपेक्षा व्यक्त गरे ।
उनले गाउँब्लकमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने कागजात प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले नापी कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीको निरन्तर प्रयासपछि वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका नागरिकले आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्न सकेको बताए ।
उनले प्रमाण पुर्जा प्राप्त गरेपछि स्थानीयवासीले आफ्नो जग्गाको स्वामित्वसम्बन्धी अधिकार औपचारिक रूपमा प्राप्त गरेको अनुभूति गर्ने र अब जग्गासम्बन्धी काम गर्न सहज हुने बताए ।
नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत उमेशकुमारले वडा अध्यक्ष, नगर प्रमुख तथा नापी कार्यालयका कर्मचारीको समन्वय र सक्रियताका कारण गाउँब्लक जग्गाको प्रमाण पुर्जा वितरणलाई अगाडि बढाउन सफल भएको बताए ।
उनले बाँकी गाउँब्लक जग्गाधनीको कामलाई समेत क्रमिक रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
क्षिरेश्वरनाथ नगरपालिका–२ का वडा अध्यक्ष देवु यादवले लामो समयदेखि प्रतीक्षामा रहेका वडावासीले आज आफ्नो जग्गाको प्रमाण पुर्जा प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे । उनले गाउँब्लक जग्गाको समस्या समाधानका लागि सहयोग गर्ने नापी कार्यालय, नगरपालिका तथा सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।
कार्यक्रमका सभाध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले संविधान दिवसको सुखद अवसरमा गाउँब्लक जग्गाधनीलाई प्रमाण पुर्जा वितरण गर्न पाउनु महत्वपूर्ण विषय भएको बताए ।
उनले प्रमाण पुर्जा प्राप्त गरेका नागरिकले आफ्नो भू–स्वामित्वको अधिकार प्राप्त गरेको उल्लेख गर्दै कुनै जग्गाधनी छुटेको वा प्रमाण पुर्जामा कुनै त्रुटि भएको भए समयमै नापी कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी लुइटेलका अनुसार धनुषा जिल्लाका १८ वटै स्थानीय तहमा गाउँब्लक जग्गाको नापजाँच तथा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरणको कार्य क्रमिक रूपमा भइरहेको छ ।
वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयले आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा हात पारेपछि कार्यक्रममा खुसी व्यक्त गरेका थिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग