दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
नापी कार्यालय धनुषाले गाउँब्लक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम–२०८३ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–१ मा ३८८ जना जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा आयोजित कार्यक्रममा नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत उमेश कुमारको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यतामा पुर्जा वितरण गरिएको हो ।
कार्यक्रममा साविक गा.वि.स. रमदैया भवाडीका वडा नम्बर २, ३, ४, ६, ७ र ८, हाल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ अन्तर्गतका गाउँब्लक जग्गाधनीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।
वर्षौंदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी रूपमा जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गर्न नसकेका स्थानीयवासीका लागि पुर्जा वितरण कार्यक्रम महत्वपूर्ण बनेको छ । पुर्जा प्राप्त भएपछि सम्बन्धित जग्गाधनीलाई आफ्नो जग्गाको स्वामित्व प्रमाणित गर्न तथा आवश्यक कानुनी र प्रशासनिक प्रक्रियामा सहजता हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुखदेव यादवले गाउँब्लक जग्गाको समस्या समाधान गर्दै स्थानीय नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराउने कार्य महत्वपूर्ण भएको बताउनुभयो । उहाँले लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या भोगिरहेका नागरिकले पुर्जा प्राप्त गर्नु खुशीको विषय भएको उल्लेख गर्दै बाँकी रहेका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डल वर्षौंदेखि गाउँब्लक जग्गाको समस्या भोग्दै आएका नागरिकले आज आफ्नो जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गर्नुभएको छ । यो नागरिकको भूमि अधिकारसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण उपलब्धि हो । अझै पनि यस्ता समस्या रहेका स्थानको पहिचान गरी सम्बन्धित निकायबीच समन्वय गरेर समाधानतर्फ अघि बढ्न आवश्यक छ ।
त्यस्तै क्षिरेश्वरनाथ नगरपालिका–१ का वडा अध्यक्ष मकेश्वर यादवका अनुसार हाम्रो वडाका नागरिकले लामो समयदेखि गाउँब्लक जग्गाको पुर्जा पाउने प्रतीक्षा गरिरहनुभएको थियो । आज ३८८ जना जग्गाधनीले पुर्जा प्राप्त गर्नु वडा र स्थानीयवासीका लागि खुशीको विषय हो । पुर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने नापी कार्यालय तथा सम्बन्धित सबै निकायलाई धन्यवाद दिन चाहन्छु । बाँकी रहेका जग्गासम्बन्धी समस्याको समाधानका लागि पनि हामी निरन्तर पहल गर्नेछौँ ।
नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत उमेश कुमारका अनुसार गाउँब्लक जग्गाको नापजाँच, दर्ता प्रक्रिया र प्रमाण पुर्जा वितरणका लागि नापी कार्यालयले आवश्यक प्रक्रिया पूरा गर्दै आएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ अन्तर्गत साविक रमदैया भवाडीका विभिन्न वडाका ३८८ जग्गाधनीलाई आज प्रमाण पुर्जा वितरण गरिएको हो । बाँकी रहेका गाउँब्लक जग्गाको पनि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित जग्गाधनीलाई प्रमाण पुर्जा उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
कार्यक्रममा अतिथीको रुपमा वडा सदस्य नवल किशोर यादव लगायत वडा सदस्यहरू, नापी कार्यालय धनुषाका कर्मचारी तथा स्थानीय जग्गाधनीहरूको उपस्थिति रहेको थियो ।
पुर्जा वितरण कार्यक्रममा स्थानीय जग्गाधनीहरूले लामो समयदेखि प्रतीक्षा गर्दै आएको जग्गाधनी दर्ता प्रमाण पुर्जा हातमा पाएपछि खुसी व्यक्त गरेका थिए । गाउँब्लक जग्गाको व्यवस्थित नापजाँच तथा दर्ता प्रक्रिया अघि बढाएर प्रमाण पुर्जा वितरण गरिनु स्थानीयवासीको जग्गासम्बन्धी अधिकारलाई औपचारिक रूपमा स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग