धनुषा । धनुषाको मिथिला नगरपालिका–५ स्थित दिलीप वाटिका तथा औरही बाबा स्थान परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिथिला नगर समितिको आयोजनामा वृक्षरोपण गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा पाँच सयभन्दा बढी बिरुवा रोपिएको हो। रास्वपा मिथिला नगर अध्यक्ष विजयकुमार शाहका अनुसार आप, अमला, अम्बालगायत करिब १० प्रजातिका बिरुवा रोपिएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा रास्वपा नेता राजकिशोर महतो, पार्टीका केन्द्रीय सदस्य मन्जु सिंह र सुस्मा बस्नेत, धनुषा जिल्ला सचिव रमेश पहाडीलगायत स्थानीय पदाधिकारी तथा पालिका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य महतोले जलवायु परिवर्तनका कारण विश्व नै संकटमा परिरहेका बेला वातावरण संरक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो। तराई–मधेशमा सुख्खाको समस्या बढ्दै गएको तथा पहाडी क्षेत्रमा हिमालको हिउँ पग्लने क्रम तीव्र हुँदै गएकाले वातावरण संरक्षण चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ थियो। महतोले वातावरण संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपालमा भएका विभिन्न परिवर्तनमा युवाको योगदान उल्लेखनीय रहेको दाबी गर्नुभयो। रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर पर्यावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाएको उहाँले बताउनुभयो। उहाँले वनजंगल संरक्षणका लागि स्थानीय युवा, पालिका, पार्टी नेतृत्व तथा सञ्चारकर्मी मिलेर वृक्षरोपण गरिएको बताउनुभयो। वृक्षरोपणबाट तत्काल ठूलो परिवर्तन नआए पनि वातावरण संरक्षणमा सानो योगदान पुग्ने उहाँको विश्वास थियो। रास्वपा मिथिला नगर समितिले वृक्षरोपणलाई एकदिने कार्यक्रममै सीमित नराखी रोपिएका बिरुवाको संरक्षण, स्याहार तथा हुर्काउने कार्यमा समेत ध्यान दिने जनाएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech