जनकपुरधाम । संघीय संसदमा लहानमा ट्रमा सेन्टर निर्माण गर्ने विषय उल्लेख भएपछि धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर नबन्ने हो कि भन्ने आशंका व्यक्त भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रीले ढल्केबरको योजना यथावत् रहेको स्पष्ट पारेका छन् । मन्त्रीले समाजिक संजालमा एक स्पष्टिकरण जारी गर्दै ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना कुनै पनि रूपमा रोकिएको वा परिवर्तन नगरिएको बताएका छन् । उनका अनुसार ढल्केबरको भौगोलिक अवस्थिति, पूर्व–पश्चिम राजमार्ग तथा मधेश प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालका कारण त्यहाँ ट्रमा सेन्टरको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेको छ । मन्त्रालय उक्त योजना कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन् । मन्त्रीले संसदमा लहानको सन्दर्भ उठाउनुको उद्देश्य कुनै एक स्थानलाई प्राथमिकता दिई अर्को स्थानलाई पछाडि पार्ने नभएको पनि स्पष्ट पारे । मधेश प्रदेशका विभिन्न क्षेत्रमा हुने दुर्घटनाको अवस्था, जनघनत्व, स्वास्थ्य सेवामा पहुँच तथा भौगोलिक आवश्यकतालाई आधार मानेर जहाँ आवश्यकता र सम्भाव्यता देखिन्छ, त्यहाँ क्रमशः ट्रमा सेन्टर स्थापना गर्ने सरकारको दीर्घकालीन योजना रहेको उनले बताएका छन् । उनका अनुसार सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने, आकस्मिक उपचारलाई थप प्रभावकारी बनाउने तथा दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ मन्त्रालयले आवश्यक अध्ययन, योजना र स्रोत व्यवस्थापनको काम अघि बढाइरहेको छ । मन्त्रीले ढल्केबर ट्रमा सेन्टरका सम्बन्धमा फैलिएका भ्रममा नपर्न र तथ्यमा आधारित आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न सम्पूर्ण सरोकारवाला तथा सर्वसाधारणसँग आग्रह गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech