दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमाडौँ ।
“रुख लगाऔँ, अक्सिजन पाऔँ“ भन्ने नाराका साथ शिव शिष्य हरिन्द्रानन्द फाउन्डेसन, काठमाडौंको आयोजनामा दिदी निलम आनन्दको शुभ जन्मदिन तथा पावन गुरु पूर्णिमाको अवसर पारेर १०१ वटा बिरुवा रोप्दै वृक्षारोपण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।
राम प्रवेश साह रौनियारको संयोजकत्वमा बागबजार स्थित पद्मकन्या (पी.के.) बहुमुखी क्याम्पस परिसरमा आयोजित उक्त कार्यक्रममा क्याम्पस प्रमुखको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वप्रति सबैलाई प्रेरित गर्ने उद्देश्यका साथ विभिन्न जातका बिरुवाहरू रोपिएका थिए ।
बुधबार बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा काठमाडौं उपत्यकाभर रहेका शिव शिष्य परिवारका गुरु भाइ तथा गुरुबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा बिरुवा रोप्दै वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको सन्देश दिएका थिए ।
आयोजकका अनुसार धार्मिक तथा आध्यात्मिक पर्वलाई केवल पूजा–आराधनामा सीमित नराखी समाज र प्रकृतिका लागि उपयोगी कार्यसँग जोड्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । गुरु पूर्णिमा तथा दिदी निलम आनन्दको जन्मदिनलाई स्मरणीय बनाउने उद्देश्यले १०१ वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा उपस्थित वक्ताहरूले जलवायु परिवर्तन, बढ्दो प्रदूषण तथा वन विनाशका कारण वातावरणीय सन्तुलनमा चुनौती थपिएको उल्लेख गर्दै प्रत्येक नागरिकले आफ्नो जीवनमा कम्तीमा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
शिव शिष्य परिवारका सदस्यहरूले आगामी दिनमा पनि वातावरण संरक्षण, सामाजिक सेवा तथा आध्यात्मिक चेतना अभिवृद्धिसम्बन्धी यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको समापन सहभागीहरूको सामूहिक वृक्षारोपण, शुभकामना आदान–प्रदान तथा वातावरण संरक्षणको सामूहिक संकल्पका साथ सम्पन्न भएको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग