धनगढी, कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणीघाट नजिक मोहना नदी किनारमा बेवारिसे अवस्थामा मृत फेला परेका एक युवकको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार आइतबार मृत अवस्थामा फेला परेका कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरेको जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेकासहित चार जनाले राजकुमार रानामाथि कुटपिट गरी हत्या गरेको र त्यसपछि शव मोहना नदी किनारमा फालेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न रहेका अन्य दुई व्यक्तिको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech