महेन्द्रनगर, धनुषा धनुषाको महेन्द्रनगर स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको अभावका कारण एक बिरामीको मृत्यु भएको घटनापछि स्थानीयवासी विरोध प्रदर्शन गरेका छन । घटनापछि आक्रोशित स्थानीयले महेन्द्रनगरको सखुवा चौक र उपचार केन्द्र अगाडि विरोध प्रदर्शन गर्दै स्वास्थ्य सेवाको कमजोर अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् । स्थानीयहरूले सर्पदंश जस्तो संवेदनशील उपचार केन्द्रमा आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक, भेन्टिलेटर लगायत अत्यावश्यक उपकरणको अभाव रहँदा पटक–पटक बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको आरोप लगाए । उनीहरूले उपचार केन्द्रलाई तत्काल स्तरोन्नति गरी प्रभावकारी सेवा सञ्चालन गर्न माग गरेका छन् । विरोधसभामा सहभागीहरूले राजनीतिक खिचातानी र सम्बन्धित निकायको बेवास्ताका कारण उपचार केन्द्रको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको बताएका थिए । उनीहरूले सरकारले तत्काल एमबीबीएस डाक्टर, आवश्यक औषधि तथा आधुनिक उपकरणको व्यवस्था नगरे थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । स्थानीय अगुवा तथा सरोकारवालाहरूले सर्पदंश प्रभावित क्षेत्रमा रहेको यस उपचार केन्द्रलाई व्यवस्थित बनाउन प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । अहिले घटनाबारे स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समेत जवाफ माग गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech