जनकपुरधाम, मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि आजसम्मकै सानो आकारको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन तथा यातायातलगायतका क्षेत्रलाई समेटेर बजेट ल्याउन लागिएको हो। प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज भट्टराई ले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारले चालु र पुँजीगत खर्चसहित करिब ४१ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। बजेटको आकार ४२ अर्ब रुपैयाँभित्र सीमित रहने बताइएको छ, जुन प्रदेश स्थापनापछि अहिलेसम्मकै सबैभन्दा सानो बजेट हुनेछ। गत आर्थिक वर्ष २०८२÷०८३ का लागि मधेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो। तर अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्दा करिब १२ अर्ब रुपैयाँको बजेट घाटा देखिएको थियो। त्यसपछि सरकारले अधिकांश विकास आयोजनाको बजेटमा २० प्रतिशतसम्म कटौती गर्नुपरेको थियो। क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउँदा प्रदेश सरकार आर्थिक दबाबमा परेको विश्लेषण गरिएको छ। आगामी बजेटमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने साना योजनाको संख्या घटाउने तयारी पनि गरिएको छ। स्रोतका अनुसार विकास आयोजनाहरूलाई एकीकृत गर्दै तीन–चार वटा शीर्षक समेटेर कम्तीमा एक करोड रुपैयाँभन्दा माथिका योजना समावेश गर्ने नीति अपनाइनेछ। यसबाट साना तथा छरिएका योजनाभन्दा ठूला र प्रभावकारी परियोजनामा लगानी केन्द्रित गर्ने सरकारको लक्ष्य रहेको छ। प्रदेश सरकारको भनाइअनुसार आगामी बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र आर्थिक अनुशासनमा आधारित हुनेछ। यसले प्रदेशको वित्तीय अवस्था सुदृढ बनाउनुका साथै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech