महेन्द्रनगर, धनुषा । आर्थिक वर्ष २०८३÷०८४ को बजेट समयमै पारित गर्न नसकेको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएको चर्चा विपरीत, क्षिरेश्वरनाथ नगरपालिका समयमै बजेट प्रक्रिया पूरा गर्ने स्थानीय तहमध्ये रहेको तथ्य सार्वजनिक भएको छ । स्थानीय तहको आर्थिक वर्ष २०८३÷०८४ सम्बन्धी बजेट अपडेटमा क्षिरेश्वरनाथ नगरपालिका समयमै बजेट प्रस्तुत र पारित गर्ने स्थानीय तहको सूचीमा रहेको देखिएको हो । यससँगै नगरपालिकाले बजेट पारित गर्न नसकेको र नयाँ आर्थिक वर्ष सुरु भएपछि ‘शून्य बजेट’को अवस्थामा परेको भन्ने समाचारको खण्डन भएको छ । बजेट अपडेटअनुसार क्षिरेश्वरनाथ नगरपालिकाले २०८३ साल असार ३ गते (बुधवार) आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट नगरसभामा पेश गरेको थियो । त्यसपछि आवश्यक छलफल सम्पन्न गरी २०८३ साल असार १९ गते नगरसभाबाट बजेट पारित गरिएको अभिलेखमा उल्लेख छ । नयाँ आर्थिक वर्ष २०८३÷०८४ सुरु भएसँगै साउन १ गते (शुक्रबार) बजेट समयमै पारित गर्न नसकेका केही स्थानीय तहहरू ‘शून्य बजेट’को अवस्थामा पुगेका छन् । यस्ता स्थानीय तहहरूले बजेट पारित नभएसम्म नियमित आर्थिक कारोबार सञ्चालन गर्न कानुनी रूपमा कठिनाइ व्यहोर्नुपर्ने अवस्था रहेको छ । संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसपछि नगरसभा वा गाउँसभाबाट आवश्यक प्रक्रिया पूरा गरी बजेट पारित गरिन्छ । यसैक्रममा सार्वजनिक भएको बजेट अपडेटले क्षिरेश्वरनाथ नगरपालिकाले कानुनी प्रक्रिया अनुसार समयमै बजेट प्रस्तुत गरेको र त्यसपछि नगरसभाबाट पारित गरेको स्पष्ट पारेको छ । यसले नगरपालिकाबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका भ्रामक दाबीहरू तथ्यसँग मेल नखाने देखिएको छ । स्थानीय तहको आधिकारिक बजेट अपडेट सार्वजनिक भएपछि क्षिरेश्वरनाथ नगरपालिका समयमै बजेट प्रक्रिया सम्पन्न गर्ने स्थानीय तहमध्ये रहेको पुष्टि भएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech