महेन्द्रनगर, धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–२ अन्तर्गत रहेको श्री माध्यमिक विद्यालय कुम्हरौल रमदैया भवाडीका विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८२ अन्तर्गतको छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष देवु यादवको अध्यक्षता तथा नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा छात्रछात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्राहरूलाई प्रति विद्यार्थी रु. ४००, दलित विद्यार्थीलाई प्रति विद्यार्थी रु. ४०० तथा लक्षित समूहअन्तर्गतका विद्यार्थीलाई प्रति विद्यार्थी रु. ५०० का दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ । यस अवसरमा बोल्दै नगर प्रमुख सुखदेव यादवले शिक्षा क्षेत्रमा गरिएको लगानीले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका तथा लक्षित समुदायका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताए । उनले विद्यार्थीलाई नियमित अध्ययन, अनुशासन र उत्कृष्ट नतिजातर्फ प्रेरित हुन आग्रह गर्दै नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका अध्यक्ष वडा नम्बर २ का अध्यक्ष देवु यादवले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएकाले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थी प्रोत्साहन तथा आवश्यक पूर्वाधार विकासमा वडा कार्यालय सदैव सकारात्मक रहेको बताए । त्यसैगरी, मधेश प्रदेश शिक्षा निर्देशनालय, जनकपुरधाम, नेपालबाट प्राप्त शैक्षिक सामग्रीअन्तर्गत शैक्षिक सत्र २०८३ का कक्षा ७, ८ र ९ मा अध्ययनरत प्रत्येक विद्यार्थीलाई एक÷एक थान जियोमेट्री बक्स र विद्यालय झोला (ब्याग) वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मनोज कुमार महतोले जानकारी दिए । प्रधानाध्यापक महतोका अनुसार छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउने विश्वास लिइएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech