कैलाली , कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला अझै बेपत्ता रहेकी छन्। शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो। बाढीमा परेकी महेश्वरी धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको प्रहरीले जनाएको छ। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बेपत्ता भएकी कल्पना साउदको खोजी कार्य जारी रहेको छ। उनको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको जानकारी प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुवै महिला बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा अचानक आएको बाढीले उनीहरूलाई बगाएको अनुमान गरिएको छ। प्रहरीले बेपत्ता महिलाको खोजी कार्य तीव्र रूपमा जारी राखेको जनाएको छ। साथै वर्षायाममा नदी, खोला तथा बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech