महेन्द्रनगर, धनुषा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा रहेको सर्पदंश उपचार अस्पतालको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापन अभावका कारण अस्पताल प्रभावकारी सेवा दिन नसकेको आरोप स्थानीयको छ । स्थानीयवासीका अनुसार तराई क्षेत्रमा सर्पदंशका घटना बढ्ने गरे पनि अस्पतालमा अत्यावश्यक सेवा र उपकरणको अभाव हुँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । सर्पदंश उपचारका लागि कम्तीमा एउटा एमबीबीएस डाक्टर र भेन्टिलेटर सेवा अनिवार्य आवश्यक भए पनि हालसम्म ती व्यवस्था हुन नसकेको जानकारहरू बताउँछन् । अस्पतालका वर्तमान अध्यक्षले आफूले पदभार ग्रहण गरेपछि अस्पतालको दयनीय अवस्था देखेर आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । उनले अस्पताल सुधारका लागि स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायमा पटक–पटक पहल गरे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरे । यता क्षिरेश्वरनाथ नगरपालिका का नगर प्रमुख सुखदेव यादवले अस्पताल व्यवस्थापनमा राजनीतिक हस्तक्षेप मुख्य समस्या बनेको आरोप लगाएका छन् । उनका अनुसार अस्पताललाई “एक राजनीतिक दलको कब्जाजस्तो” बनाइएको छ, जहाँ सेवा सुधारभन्दा तलब–भत्ता वितरणमै बढी ध्यान केन्द्रित गरिएको छ ।
नगर प्रमुख यादवले अस्पतालको अवस्था सुधार गर्न भेन्टिलेटर खरिद तथा एमबीबीएस डाक्टर नियुक्तिका लागि बजेट विनियोजन गरिएको बताए । तर कार्यपालिकामा बहुमत नहुँदा उक्त बजेट हटाइएको उनको दाबी छ । स्थानीयवासीहरूका अनुसार सर्पदंश अस्पताल जस्तो संवेदनशील संस्थामा अत्यधिक राजनीतिक प्रभाव र विवादका कारण सेवा प्रणाली कमजोर बनेको हो । उनीहरूले अस्पताललाई राजनीति मुक्त बनाई तत्काल आवश्यक जनशक्ति, उपकरण र उपचार सेवा सुनिश्चित गर्न माग गरेका छन् । सर्पदंशका बिरामीको उपचारमा ढिलाइ हुँदा ज्यानै जान सक्ने जोखिम रहने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech