दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
वर्षौंदेखि निष्क्रिय अवस्थामा रहेको महेन्द्रनगर क्षेत्रकै पुरानो सहकारी संस्था श्री सहकारी संस्था लिमिटेड, महेन्द्रनगर ले विधिवत रूपमा आफ्नो कारोवार सञ्चालनमा ल्याएको छ । लामो समयदेखि निष्क्रिय रहेको संस्थालाई केही महिनाअघि विशेष पहल तथा सक्रियतामा नयाँ कार्यसमिति गठन गरी पुनः सञ्चालनमा ल्याइएको थियो ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको विशेष सक्रियता तथा पहलमा नयाँ कार्यसमिति गठन भएपछि संस्थाले आफ्नो सेवा तथा कारोवारलाई पुनः सञ्चालनमा ल्याएको हो । कारोवार शुभारम्भसँगै संस्थाले स्थानीयस्तरमा बचत तथा ऋण लगायतका सहकारी सेवा प्रभावकारी रूपमा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
संस्थाका अध्यक्ष श्यामलाल महतोको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यतामा आयोजित विशेष कार्यक्रमबीच संस्थाको कारोवार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
कारोवार उद्घाटन गर्नुअघि संस्थाको कार्यालय परिसरमा शुभसाइतमा पूजापाठ तथा धार्मिक विधि समेत सम्पन्न गरिएको थियो । पूजापाठपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख यादवले संस्थाको कारोवार शुभारम्भको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तथा प्रमुख अतिथि सुखदेव यादवले लामो समयदेखि निष्क्रिय रहेको पुरानो सहकारीलाई पुनः सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण काम भए पनि सबैको सहयोग र सक्रियताबाट सम्भव भएको बताउनुभयो । उहाँले सहकारी संस्थाले अब विगतका कमजोरीबाट पाठ सिक्दै सदस्यको हितलाई केन्द्रमा राखेर पारदर्शी र विश्वसनीय ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख यादवले सहकारी संस्था स्थानीय नागरिकको आर्थिक जीवनसँग प्रत्यक्ष जोडिएको संस्था भएकाले बचतकर्ताको रकमको सुरक्षा, पारदर्शिता र प्रभावकारी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संस्था सञ्चालनका क्रममा आवश्यक सहयोग र सहजीकरणका लागि स्थानीय सरकार सकारात्मक रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमकी विशिष्ट अतिथि मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले सहकारी संस्था स्थानीय समुदायको आर्थिक विकासको महत्वपूर्ण आधार बन्न सक्ने बताउनुभयो । उहाँले सहकारीले नाफामात्र कमाउने उद्देश्य नराखी सदस्य तथा स्थानीय समुदायको आर्थिक अवस्था सुधार गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले लामो समयदेखि बन्दजस्तै अवस्थामा रहेको संस्था पुनः सञ्चालनमा आउनु सकारात्मक सुरुवात भएको उल्लेख गर्दै संस्थाको दिगोपनाका लागि सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यबीच आपसी विश्वास र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै युवा नेता अनिल चौधरीले युवालाई उद्यम तथा स्वरोजगारसँग जोड्न सहकारीले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय युवालाई सानो तथा मझौला व्यवसाय सञ्चालन गर्न आवश्यक वित्तीय पहुँच र सहजीकरण उपलब्ध गराउन सके सहकारीले आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राख्नुभयो ।
निजी वनका रामकुमार महतोले स्थानीय उत्पादन तथा कृषि क्षेत्रलाई सहकारीसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले किसान तथा स्थानीय उत्पादकलाई बचत, ऋण तथा बजार व्यवस्थापनसँग जोड्ने योजना बनाउन सके संस्थाले समुदायमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।
क्षिरेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशप्रसाद यादवले सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय व्यवसायी तथा उद्यमीलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउँदै व्यवसाय प्रवद्र्धनमा सहकारीले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्यामलाल महतोले लामो समयदेखि निष्क्रिय रहेको संस्थालाई पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नयाँ कार्यसमितिले संस्थालाई व्यवस्थित, पारदर्शी र सदस्यको हितमा केन्द्रित गर्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष महतोले संस्थाको कारोवार पुनः सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई बचत तथा ऋण लगायतका सहकारी सेवा सहज रूपमा उपलब्ध गराउने र आगामी दिनमा संस्थाको सेवा विस्तार गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरका अध्यक्ष लक्ष्मी यादव लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
लामो समयदेखि कारोवारविहीन अवस्थामा रहेको संस्थालाई नयाँ कार्यसमिति गठन गरी पुनः सञ्चालनमा ल्याउन सफल भएकोमा कार्यक्रममा सहभागी वक्ताहरूले खुसी व्यक्त गरेका थिए । उनीहरूले सहकारी संस्थाले स्थानीय बचतकर्ताको विश्वास कायम गर्दै सदस्यको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउनुपर्नेमा जोड दिएका थिए ।
सहकारी संस्थाले स्थानीय नागरिकलाई बचत गर्ने बानीको विकाससँगै आवश्यकता अनुसार वित्तीय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले संस्थाको पुनः सञ्चालनले यस क्षेत्रका सर्वसाधारण तथा व्यवसायीलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ कार्यसमितिको नेतृत्वमा पुनः सञ्चालनमा आएको श्री सहकारी संस्था लिमिटेडले आगामी दिनमा सदस्य केन्द्रित, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै संस्थाको कारोवार विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ ।
वर्षौंदेखि निष्क्रिय रहेको पुरानो सहकारी संस्था पुनः सञ्चालनमा आएसँगै महेन्द्रनगर तथा आसपासका क्षेत्रमा सहकारीमार्फत आर्थिक गतिविधि थप चलायमान हुने विश्वास गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग