लालगढ, धनुषा । शिक्षकहरूलाई प्रविधिमैत्री बनाउँदै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगमार्फत शिक्षण सिकाइ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजित ‘कृत्रिम बुद्धिमत्तामार्फत भविष्यको नेतृत्व’ विषयक एकदिने तालिम मधेश प्रदेशमा सम्पन्न भएको छ । प्याब्सन केन्द्रीय समितिको आयोजनामा प्रत्येक प्रदेशमा सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत मधेश प्रदेशको तालिम लालगढ स्थित गौतम होटलमा प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको अध्यक्षतामा आयोजना गरिएको हो । तालिममा शिक्षक तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई बदलिँदो प्रविधिको प्रयोग, कृत्रिम बुद्धिमत्ताको सम्भावना, शिक्षण सिकाइमा एआईको प्रयोग तथा भविष्यको नेतृत्व विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । पछिल्लो समय शिक्षा क्षेत्रमा तीव्र रूपमा प्रयोग बढ्दै गएको कृत्रिम बुद्धिमत्तालाई अवसरका रूपमा उपयोग गर्दै शिक्षकहरूले आफ्नो शिक्षण पद्धतिलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार डी.के. ढुङ्गाना, पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार टिकाराम पुरी, ‘फस्र्ट लेडी’ सुनिता अधिकारी, केन्द्रीय उपाध्यक्ष तथा तालिम संयोजक सन्तोषमणि न्यौपाने, चेयरपर्सन आई.एन.जी. सुल्भ बुढाथोकी, केन्द्रीय उपाध्यक्ष दीपक रेग्मी, कोशी प्रदेश अध्यक्ष सुमित थापालगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा प्याब्सनका प्रदेश सल्लाहकारहरू, केन्द्रीय समितिका सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला अध्यक्ष, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक तथा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको समेत सहभागिता रहेको थियो । तालिमले शिक्षकहरूलाई एआई प्रविधिको बदलिँदो स्वरूप र यसको शैक्षिक क्षेत्रमा उपयोगबारे जानकारी गराउँदै भविष्यको शिक्षालाई प्रविधिसँग जोड्न महत्वपूर्ण सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ । प्याब्सनले शिक्षा क्षेत्रमा भइरहेको प्रविधिगत परिवर्तनलाई आत्मसात् गर्दै शिक्षक तथा विद्यालय नेतृत्वलाई समयअनुकूल बनाउन यस्ता कार्यक्रमलाई प्रदेशस्तरमा निरन्तरता दिने जनाएको छ । एकदिने तालिमले शिक्षकहरूमा कृत्रिम बुद्धिमत्ताप्रतिको ज्ञान, यसको व्यावहारिक प्रयोग र भविष्यमा प्रविधिमैत्री नेतृत्व विकासका लागि आवश्यक सीप अभिवृद्धि गर्न महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech