दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा
धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा आयोजित वृहत रक्तदान कार्यक्रममा २२१ जनाले रक्तदान गरेका छन् । आयोजकका अनुसार यो क्षेत्रमै एउटै कार्यक्रममा यति ठूलो संख्यामा रक्तदान भएको यो पहिलोपटक हो ।
रसुवामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा बेपत्ताहरूको सकुशल उद्धारको प्रार्थनासहित अस्पतालहरूमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
ढल्केवर मेन चोकमा आज बिहान ७ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधि, युवा, व्यवसायी तथा सामाजिक अभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदानका लागि बिहानैदेखि रक्तदाताहरूको उल्लेख्य उपस्थिति देखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा रक्तदान गर्ने २२१ जनाको रगत संकलन गरिएको छ । विपद्का बेला अस्पतालमा उपचाररत बिरामी तथा घाइतेका लागि रगतको आवश्यकता बढ्ने भएकाले मानवीय सेवाको भावनाले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले बताएका छन् ।
वृहत रक्तदान कार्यक्रम ढल्केवर धनुषा मिथिला लायन्स क्लब, खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेश प्रदेश उद्योग परिसंघ, मिथिला युवा सञ्जाल, शुभकामना सहकारी संस्था बडहरी, धनुषा र नमुना सहकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
आयोजकहरूले विपद्को समयमा मानवीय सेवामा हातेमालो गर्दै रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै, यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ ।
रक्तदान कार्यक्रमले विपद्को समयमा समुदायस्तरबाट समेत मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिने सकारात्मक सन्देश दिएको आयोजकहरूको भनाइ छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग