महेन्द्रनगर, धनुषा । “हामी तपाईंको भविष्य सुरक्षित गर्छौं” भन्ने नाराका साथ क्षिरेश्वर मल्टिपल कलेजले बीबीए र बीपीएएम कार्यक्रमको अभिमुखीकरण तथा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष विष्णु यादवको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कलेजमा पहिलो ब्याचका रूपमा नामांकन गरेका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विनोदप्रसाद गुप्ता, राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत चन्द्रदेव यादव, स्वस्थानी युवा क्लबका सचिव जितेन्द्रकुमार साह रोनियार, नबिल बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुखलगायत कलेज व्यवस्थापन समितिका सदस्य, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले क्षिरेश्वरनाथ नगरपालिकामा उच्च शिक्षाका नयाँ अवसर विस्तार गर्न क्षिरेश्वर मल्टिपल कलेजको स्थापना महत्वपूर्ण उपलब्धि भएको बताएका थिए । स्थानीय स्तरमै व्यवस्थापन तथा व्यावसायिक शिक्षाका अवसर उपलब्ध हुँदा विद्यार्थीहरूले उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने उनीहरूको भनाइ थियो । वक्ताहरूले कलेज स्थापनाका लागि क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव तथा वडा अध्यक्षहरूको अथक प्रयास र पहल महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेका थिए । स्थानीय जनप्रतिनिधिको पहलमा आफ्नै क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनमा आएको भन्दै उनीहरूले कलेजको सफलताका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुखदेव यादवले क्षिरेश्वर मल्टिपल कलेजलाई आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । स्थानीय विद्यार्थीलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्दै उनीहरूलाई प्रतिस्पर्धी बनाउन कलेजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले कलेजको शैक्षिक तथा भौतिक विकासमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, वडा नम्बर ६ का अध्यक्ष विनोदप्रसाद गुप्ताले स्थानीय स्तरमा उच्च शिक्षाको संस्था स्थापना हुनु गौरवको विषय भएको बताउँदै कलेजको विकास र विद्यार्थीको शैक्षिक भविष्यका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत चन्द्रदेव यादवले विद्यार्थी जीवनमा अनुशासन, निरन्तर अध्ययन र लक्ष्यप्रतिको प्रतिबद्धता महत्वपूर्ण हुने भन्दै नयाँ विद्यार्थीहरूलाई आफ्नो अध्ययनप्रति गम्भीर भएर अघि बढ्न आग्रह गर्नुभयो । कलेजका तर्फबाट बोल्दै व्यवस्थापन समितिका अध्यक्ष विष्णु यादवले विद्यार्थीलाई केवल प्रमाणपत्र दिने नभई व्यावहारिक, सीपमूलक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कलेज सञ्चालन गरिएको बताउनुभयो । कलेजले आगामी दिनमा गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक कार्यक्रम, अध्ययन प्रणाली, परीक्षा, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा भविष्यमा उपलब्ध हुने अवसरका विषयमा जानकारी गराइएको थियो । क्षिरेश्वर मल्टिपल कलेजले पहिलो ब्याचबाट बीबीए र बीपीएएम कार्यक्रम सञ्चालनमा ल्याएको हो । स्थानीय क्षेत्रमा व्यवस्थापन तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालनमा आएको कलेजले आगामी दिनमा विद्यार्थीको आवश्यकता र रुचिअनुसार थप शैक्षिक कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नै क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त हुनु उत्साहजनक रहेको बताएका थिए । कलेजको पहिलो ब्याचमा सहभागी विद्यार्थीहरूलाई स्वागत गर्दै सुरु गरिएको अभिमुखीकरण कार्यक्रमले विद्यार्थी र कलेजबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech