दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा
रक्तदान जीवन दान भन्ने मूल नाराका साथ क्षिरेश्वरनाथ नगर प्याब्सनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जनकपुर शाखाको प्राविधिक सहयोगमा शुक्रबार क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित जेनुन कम्प्युटर सेन्टर अगाडि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
पूर्वघोषित कार्यक्रमअनुसार बिहान करिब ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी ३१ जनाले रक्तदान गरेको क्षिरेश्वरनाथ नगर प्याब्सनका अध्यक्ष महेश महतोले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । विशेषगरी महेन्द्रनगरमा सञ्चालनमा रहेको गंगोत्री बोर्डिङ स्कुलका सञ्चालक गणेश साहको विशेष पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू रक्तदान कार्यक्रममा उल्लेख्य रूपमा सहभागी भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुँदै क्षिरेश्वरनाथ नगर प्याब्सनका सचिव रामस्ठि महतोले जनचेतनाको कमीका कारण अहिले पनि समय–समयमा रक्त अभाव हुने गरेको बताउनुभयो । उहाँले रक्तदानबाट कसैको जीवन बचाउन सकिने भएकाले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
“रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य हो । जनचेतना अभिवृद्धि गर्न सके रक्त अभावका कारण हुने समस्या न्यूनीकरण गर्न सकिन्छ,” सचिव महतोले बताउनुभयो ।
क्षिरेश्वरनाथ नगर प्याब्सनले यसअघि पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
आयोजकका अनुसार रक्तदान कार्यक्रममा सहभागी सबै रक्तदातालाई धन्यवाद दिँदै आगामी दिनमा अझ बढी युवावर्ग तथा विद्यार्थीलाई रक्तदान अभियानमा जोड्ने प्रयास गरिनेछ । कार्यक्रमले स्थानीयस्तरमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवाप्रति युवापुस्ताको सहभागिता बढाउन सकारात्मक योगदान पु¥याएको आयोजकको भनाइ छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग