जनकपुरधाम, भदौ ६ — जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत डोजर चलाउन सुरु गरिएको छ। पहिलो चरणमा अतिक्रमित पोखरीका डिल खाली गराउने काम थालिएको हो। जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने कामबाट अभियान सुरु गरिएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमै जनकपुरका सात वटा पोखरीको अतिक्रमण हटाइनेछ। उनका अनुसार गत साउन १ गते नै अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरिएको थियो। पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना छ। अतिक्रमण हटाउने कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गाबाट अतिक्रमण हटाइनेछ। जनकपुरको गुठी जग्गा पहिचान तथा अतिक्रमण हटाउन २०६२ सालमा भोजराज घिमिरे नेतृत्वमा गठन गरिएको कार्यदलको प्रतिवेदनलाई आधार बनाइएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech