महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ मंगलपुर पकरीया स्थित समता राष्ट्रिय आधारभुत विद्यालय को नव निर्मित ४ कोठे विद्यालय भवन समुद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण साहको अध्यक्षता तथा नगर प्रमुख सुखदेव यादव को प्रमुख आतिथ्य र नगर उप प्रमुख रचना श्रेष्ठ माथेमा को विशिष्ट आतिथ्यमा आयोजित एक कार्यक्रम विच नव निर्मित भवनको विधिवत समुद्घाटन गरिएको हो । समुद्घाटन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष अमर किशोर सिंह, शिक्षा शाखा प्रमुख दिपक खत्री, स्थानीय समाजसेवी खुर्सेत राइन, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुखदेव यादवले शिक्षा क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार निर्माणलाई निरन्तर अघि बढाइने धारणा व्यक्त गर्नुभयो । उहाँले विद्यालय भवन निर्माणले विद्यार्थीलाई सहज र सुरक्षित वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी नगर उप प्रमुख रचना श्रेष्ठ माथेमाले शिक्षामा गरिएको लगानीले भविष्यमा सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने बताउँदै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र स्थानीय समुदायको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकाको उज्ज्वल भविष्यका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । शिक्षा शाखा प्रमुख दिपक खत्रीले विद्यालयमा नयाँ भवन निर्माण भएसँगै पठनपाठन व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न नगरपालिकाले विभिन्न शैक्षिक कार्यक्रम तथा पूर्वाधार विकासका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय परिवारले नव निर्मित भवन निर्माणमा सहयोग पु¥याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै भवनले विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गरेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech