महेन्द्रनगर, धनुषा
आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा धनुषा क्षेत्र नं.१ मा चुनावी माहोल तातेको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू यतिबेला घरदैलो अभियान, कोणसभा, मोटरसाइकल ¥याली तथा भेटघाट कार्यक्रममार्फत मतदाता रिझाउने प्रयासमा सक्रिय देखिएका छन् ।
यस क्षेत्रमा प्रमुख रूपमा नेपाली कम्यूनिष्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी लगायतका दलबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । दलका उम्मेदवारहरू गाउँ–गाउँ पुगेर विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य र सिंचाइ जस्ता एजेन्डा अघि सार्दै मत मागिरहेका छन् ।
घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले “विकासको निरन्तरता”, “सुशासन”, “भ्रष्टाचारमुक्त समाज” र “युवालाई अवसर” जस्ता नारालाई प्राथमिकतामा राखेका छन् । कतिपय स्थानमा चुनावी सभामा उल्लेख्य जनसहभागिता देखिएको छ भने युवा मतदाताको सक्रियता पनि बढ्दो छ ।
धनुषाधाम नगरपालिका निवासी रामप्रवेश यादवले भने, “हरेक चुनावमा नेताहरू धेरै आश्वासन दिन्छन्, तर काम कम देखिन्छ । यसपटक हामी काम गर्ने उम्मेदवार रोज्ने पक्षमा छौं ।
त्यसैगरी एक महिला मतदाता सरिता देवी महतोले भनिन्, “हाम्रो क्षेत्रमा स्वास्थ्य र खानेपानीको समस्या छ । जसले यी समस्या समाधान गर्ने स्पष्ट योजना ल्याउँछ, उसैलाई मत दिन्छौं ।
युवा मतदाता अजय कुमार साहको भनाइ छ, “अब युवालाई रोजगारी र सीप विकासको अवसर चाहिएको छ । खाली भाषण होइन, व्यवहारिक योजना आवश्यक छ ।”
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्नो पक्षमा माहोल बनाउन तीव्र प्रचारप्रसार गरिरहेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार धनुषा क्षेत्र नं.१ मा यसपटक प्रतिस्पर्धा रोचक र कडा हुने देखिएको छ।
फाल्गुण २१ गते हुने मतदानले क्षेत्रको भावी नेतृत्व तय गर्ने भएकाले मतदाता पनि सजग र उत्साहित देखिएका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग