महेन्द्रनगर, धनुषा
अगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धनुषा क्षेत्र नं. १ मा चुनावी माहोल तातिएको छ । “अबकी बार बालेन सरकार” भन्ने नारासहित घरदैलो अभियानमा सक्रिय देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय टोल–बस्तीमा पुगेका साहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी ले अघि सारेको स्वच्छ राजनीति र जवाफदेही शासनको अवधारणालाई जनतामाझ पु¥याउँदै यस पटक परिवर्तनको पक्षमा मत दिन आग्रह गरे ।
साहले भने, “अब देशमा पुरानै शैलीको राजनीति होइन, परिणाममुखी र उत्तरदायी नेतृत्व चाहिएको छ । फाल्गुन २१ पछि धनुषा–१ मा नयाँ राजनीतिक संस्कारको सुरुवात हुनेछ ।” उनले युवापुस्ता, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक, किसान तथा साना व्यवसायीका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले रोजगारी, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार प्रमुख अपेक्षा रहेको बताएका छन् । केही युवाले “यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्छ” भन्दै समर्थन जनाएका छन् भने केही मतदाताले विकासको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सुझाव दिएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार धनुषा क्षेत्र नं. १ मा यस पटक प्रतिस्पर्धा कडा रहने देखिएको छ । तथापि, रास्वपाको सक्रिय प्रचार–प्रसार र युवामुखी नाराले चुनावी वातावरणमा प्रभाव पारिरहेको बताइन्छ ।
फाल्गुन २१ को निर्वाचन परिणामले धनुषा–१ को भावी राजनीतिक दिशालाई निर्धारण गर्ने अपेक्षा गरिएको छ । अहिले भने “अबकी बार बालेन सरकार” नारा गाउँ–गाउँमा गुञ्जिँदै चुनावी माहोल थप रोचक बनेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग