महेन्द्रनगर, धनुषा धनुषा क्षेत्र नं. ४ का आम जनता पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सम्पत महतो औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई धनुषा–४ बाट रास्वपाका उम्मेदवार राज किशोर महतोले स्वागत गर्दै पार्टीमा आबद्ध गराएका हुन् । एक कार्यक्रमका बीच पार्टी प्रवेश गर्दै सम्पत महतोले विगत ३४ वर्षदेखि देशमा पुराना राजनीतिक दलहरूले शासन गर्दै आएको उल्लेख गर्दै अब परिवर्तनको आवश्यकता रहेको बताए । उनले विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति लक्षित गर्दै ती दलहरूले देशमा शोषण र दमनको राजनीति गरेको आरोप लगाए । “तीन ठूला दलले देशलाई आफ्नै स्वार्थका लागि प्रयोग गरे, जनताको आशा र भरोसालाई तोडे । अब यो प्रवृत्तिको अन्त्य गर्न नयाँ सोच र नयाँ शक्तिको आवश्यकता छ,” महतोले भने, “त्यसैले म वैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको हुँ ।” कार्यक्रममा बोल्दै रास्वपाका उम्मेदवार राज किशोर महतोले सम्पत महतोको आगमनले धनुषा–४ मा पार्टी थप मजबुत हुने विश्वास व्यक्त गरे । उनले भने, “सम्पतजी जस्तो सक्रिय र जनतामाझ लोकप्रिय व्यक्तित्वको साथले हामीलाई परिवर्तनको अभियान अघि बढाउन थप ऊर्जा मिलेको छ ।” धनुषा क्षेत्र नं. ४ मा निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलबीच प्रतिस्पर्धा चर्किंदै गएको छ । उम्मेदवारहरूको पार्टी परिवर्तन र प्रवेशको क्रमले चुनावी माहोललाई अझ तातो बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । सम्पत महतोको प्रवेशसँगै धनुषा–४ मा रास्वपाको चुनावी रणनीति र मत समीकरणमा कस्तो प्रभाव पर्छ भन्ने विषय अहिले चासोका रूपमा हेरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech