महेन्द्रनगर, धनुषा
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषा क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार जुली कुमारी महतोले क्षेत्रका विभिन्न बस्ती तथा टोलमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएकी छन् ।
घरदैलो अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार महतोले आफूले जनताको माया, साथ र विश्वास पाएको दाबी गरिन् । उनले भनिन्, “धनुषा क्षेत्र नं. ३ का आम मतदाता अत्यन्त सकारात्मक देखिनुभएको छ । विकास, स्थायित्व र समृद्धिको पक्षमा जनताको स्पष्ट मत रहेको मैले महसुस गरेकी छु । यही विश्वासका आधारमा हाम्रो जित सुनिश्चित छ ।
महतोले विगतमा एमाले नेतृत्वमा भएका विकास निर्माणका कामलाई स्मरण गराउँदै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । “हामी केवल वाचा गर्ने होइनौं, काम गरेर देखाउने पार्टी हौं । क्षेत्र नं. ३ लाई नमूना क्षेत्र बनाउने हाम्रो स्पष्ट योजना छ,” उनले थपिन् ।
घरदैलो अभियानमा सहभागी स्थानीय बासिन्दाले पनि विकासमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै महतोलाई समर्थन गर्ने बताएका छन् । केही स्थानमा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । स्थानीय युवाहरूले रोजगारी सृजनाको विषयमा चासो राख्दै उम्मेदवारसँग सुझावसमेत राखेका थिए ।
चुनाव नजिकिँदै जाँदा धनुषा क्षेत्र नं. ३ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किंदै गएको छ । यद्यपि, एमाले उम्मेदवार महतोले जनताको साथ र समर्थनले आफूलाई उत्साहित बनाएको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा चुनावी अभियान अघि बढाउने जानकारी दिइन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग