महेन्द्रनगर, धनुषा
धनुषा क्षेत्र नं. ४ अन्तर्गत जनकपुरधाम–२२ विसपिटीमा नेकपा एमालेको चुनाव प्रचार–प्रसार कार्यालय विधिवत रूपमा उद्घाटन गरिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोलिएको उक्त कार्यालयको उद्घाटन धनुषा क्षेत्र नं. ४ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रघुविर महासेठले रिवन काटेर गर्नुभयो ।
उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार महासेठले जनताको सपना साकार पार्ने र उनीहरूको हकहितको संरक्षणका लागि निरन्तर संघर्षरत रहने संकल्प व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “विकासमा निरन्तरता, स्थायित्व र समृद्धिको यात्रालाई अगाडि बढाउन सूर्य चिन्हमा मतदान आवश्यक छ । जनताको साथ र विश्वासका आधारमा हामी धनुषा क्षेत्र नं. ४ लाई विकासको नमुना क्षेत्र बनाउनेछौं ।
महासेठले विगतमा आफूले सम्हालेका जिम्मेवारीका क्रममा क्षेत्रमा सडक, पुल, विद्यालय भवन, खानेपानी, सडक बत्ती लगायतका पूर्वाधार विकासका काम अघि बढाएको उल्लेख गर्दै अधुरा योजनालाई पूर्णता दिन तथा नयाँ योजना ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले पनि आसन्न निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी महासेठलाई विजयी गराउन आ–आफ्नो स्थानबाट सक्रिय रहने प्रतिबद्धता जनाएका थिए ।
उक्त कार्यालयबाट अब घरदैलो, टोलसभा तथा विभिन्न चुनावी कार्यक्रम सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग