महेन्द्रनगर, धनुषा धनुषा क्षेत्र नं. १ अन्तर्गत सबैला नगरपालिका वडा नं. ३ मा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) को चुनाव केन्द्रित बैठक सम्पन्न भएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैठकमा धनुषा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मात्रिका प्रसाद यादवले उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै निर्वाचनलाई जनताको पक्षमा परिवर्तनको अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले पार्टीको नीति, सिद्धान्त र एजेन्डालाई घर–घर पु¥याउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उम्मेदवार यादवले भने यो निर्वाचन जनताको भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसर हो । नेकपा सधैं किसान, मजदुर, युवा र सीमान्तकृत समुदायको पक्षमा उभिँदै आएको छ । धनुषा क्षेत्र नं. १ लाई विकास, रोजगारी र सुशासनको केन्द्र बनाउने हाम्रो स्पष्ट लक्ष्य छ । उहाँले पार्टीभित्र एकता, अनुशासन र सक्रिय भूमिकाबाट मात्र चुनावी प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिने उल्लेख गर्दै सबै कार्यकर्तालाई संगठित भएर लाग्न आग्रह गर्नुभयो । साथै, विगतमा पार्टीले गरेका विकासका काम र आगामी योजनाबारे जानकारी गराउँदै मतदाताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । बैठकमा सहभागी स्थानीय नेताहरूले पनि टोल–टोलमा चुनावी भेला, घरदैलो कार्यक्रम तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech