महेन्द्रनगर, धनुषा
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर नयाँ बजार स्थित दुर्गा मन्दिरको प्राङ्गनमा आम जनता पार्टीको विशेष क्षेत्रीय भेला पौष २९ गते आयोजना हुने भएको छ । आयोजक समितिले फोन मार्फत भेलाबारे जानकारी गराएको हो ।
भेलामा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लघुवित्त सहकारी पीडित संघर्ष समिति केन्द्रीय अध्यक्ष मणि राम ज्ञवाली सहित विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा कार्यकर्ताहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार भेलामा वर्तमान राजनीतिक अवस्था, जनताको दैनिकीसँग जोडिएका समस्या, लघुवित्त तथा सहकारी पीडितका मुद्दा, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल गरिनेछ । साथै पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे जनतासमक्ष प्रस्ट पार्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त भेलामा धनुषा सहित आसपासका जिल्लाबाट ठूलो संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।
आयोजक समितिले भेलालाई सफल बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा आम नागरिकलाई समयमै उपस्थित भई सहभागिता जनाउन आग्रह समेत गरेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग