धनुषा, क्षिरेश्वरनाथ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा सरोज पजियारको नेतृत्वमा विभिन्न पार्टी र स्वतन्त्र रूपमा रहेका सयौं स्थानीय यूवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) क्षिरेश्वरनाथ नगर कमिटीले आयोजना गरेको थियो । क्षिरेश्वरनाथ नगरपालिका नेकपा (एमाले)को पार्टी कार्यालयमा सम्पन्न उक्त कार्यक्रम नगर अध्यक्ष अनिल चौधरीको अध्यक्षता र नेकपा (एमाले)का केन्द्रीय सचिव तथा पूर्व मन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि रूपमा नेकपा (एमाले)की नेतृ जुली कुमारी महतो, केन्द्रीय सल्लाहकार संतोष यादव, क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, जिल्ला अध्यक्ष भोला यादव, नेता महेन्द्र यादव, राजा राम महतो, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, विरेन्द्र यादव लगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि महासेठले नयाँ प्रवेश गर्ने यूवाहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा (एमाले) देशको स्थायित्व, समृद्धि र राष्ट्रियताको पक्षधर पार्टी भएको बताउनुभयो । उहाँले युवा शक्तिलाई देशको मूल प्रेरक शक्ति भन्दै स्थानीय विकास र सामाजिक एकताका लागि युवाहरूले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी नेतृ जुली कुमारी महतोले युवाहरूको सहभागिता बिना समाजको रूपान्तरण सम्भव नभएको बताउँदै एमालेले युवालाई नेतृत्वमा ल्याउने नीति अवलम्बन गरिरहेको बताइन् । नगर प्रमुख सुखदेव यादवले पार्टी प्रवेशलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै जनताको भरोसा जित्ने काममा सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । जिल्ला अध्यक्ष भोला यादव र अन्य वक्ताहरूले पनि सरोज पजियारको नेतृत्वमा आएका यूवाहरूलाई स्वागत गर्दै संगठनलाई अझ सबल र सशक्त बनाउन आग्रह गरे । पार्टी प्रवेश कार्यक्रममा सरोज पजियारले पार्टीप्रतिको आस्था व्यक्त गर्दै नेकपा (एमाले)को विचारधारा, नीति र नेतृत्वले आफूहरू प्रभावित भएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा संगठन सुदृढीकरण र विकासका अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा नगर अध्यक्ष अनिल चौधरीले नवप्रवेशी सदस्यहरूलाई पार्टीको नीति–कार्यक्रमअनुसार जनसेवामा समर्पित रहन आग्रह गर्नुभयो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech