महेन्द्र्रनगर, सर्लाहीको बरहथवामा शुक्रवार बेलुका साढे ५ बजेदेखि लगाईएको कर्फ्यु हटे सँगै निषेधाज्ञा जारी भएको छ । बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनको क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सलार्हीले शुक्रबार बेलुका साढे ५ बजेदेखि शनिवार विहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो । कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि (आइतबार) बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न पाउने छैन । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने प्रजिअ धमलाले बताए । शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवाको शव अहिलेसम्म आन्दोलनकारीकै नियन्त्रणमा रहेको छ । स्थानीय प्रशासनले स्थानीय राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्ने वातावरण बनाउन लागिपरेको छ । मृतक स्थानीय होटेलका संचालक तथा कुखुरा दानाका होलसेल विक्रेता हुन् । प्रहरीले पनि उनी आन्दोनकारी नरहेको जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बुझिन आएको स्वीकारे । तर, आन्दोलनकारीले हतियार थुत्ने बेला गोली चलेर उनलाई लागेको हुन सक्ने बताउँदै उनले यस विषयमा अनुसन्धान भइरहेको बताए । घटनालाई लिएर सर्लाहीको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । सर्लाहीको कविलासी, सलेमपुर लगायत ठाउँमा प्रदर्शन जारी छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech