महेन्द्रनगर, धनुषा । यातायात व्यवस्था कार्यालय बर्दिबासले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका वडा नं. १ देखि १० सम्मका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनिसकेर पनि विभिन्न कारणले लिन छुटेका सेवाग्राहीको अनुमतिपत्र एकमुष्ट रूपमा नगर प्रमुख सुखदेव यादवलाई हस्तान्तरण गरेको छ । सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यातायात व्यवस्था कार्यालय बर्दिबासले नगरपालिकाका नगर प्रमुख तथा विभिन्न वडाका वडाध्यक्षहरूको रोहवरमा उक्त अनुमतिपत्र हस्तान्तरण गरेको हो । लामो समयदेखि लाइसेन्स तयार भइसके पनि सम्बन्धित कार्यालयमा पुगेर लिन नसकेका सेवाग्राहीलाई लक्षित गर्दै यो व्यवस्था गरिएको जनाइएको छ । यातायात व्यवस्था कार्यालयका कर्मचारीका अनुसार लाइसेन्स तयार भइसकेपछि पनि विभिन्न कारणले लिन छुटेका सेवाग्राहीको अनुमतिपत्र एकमुष्ट रूपमा नगर प्रमुखलाई हस्तान्तरण गरिएको हो । कार्यालयबाट सेवा लिएका नागरिकलाई घरदैलोसम्मै सवारी चालक अनुमतिपत्र पु¥याउने उद्देश्यले यो सुविधा उपलब्ध गराइएको उनीहरूले बताए । साथै, आगामी दिनमा पनि सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै यस्तो सेवा निरन्तर जारी राख्ने बताए । यस कार्यमा अग्रसरता देखाउँदै सहयोग गरेको भन्दै कार्यालयका कर्मचारीहरूले नगर प्रमुख यादव प्रति धन्यवाद समेत व्यक्त गरेका थिए । अनुमतिपत्र हस्तान्तरण कार्यक्रममा उपस्थित नगर प्रमुख सुखदेव यादवले नगरवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता रहेको बताउँदै यातायात कार्यालयबाट प्राप्त भएका अनुमतिपत्रहरू वडा अनुसार छुट्याएर सम्बन्धित वडामार्फत सेवाग्राहीसम्म पु¥याउने जानकारी दिए । नगर प्रमुख यादवले वडा नं. १ देखि १० सम्मका सेवाग्राहीका अनुमतिपत्र छुट्टाछुट्टै व्यवस्थापन गरी सम्बन्धित वडामा पठाइने र त्यसबाट सेवाग्राहीलाई अनुमतिपत्र प्राप्त गर्न सहज हुने बताए । यस पहलले सवारी चालक अनुमतिपत्र तयार भइसके पनि विभिन्न कारणले लिन जान नसकेका नगरवासीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी यातायात कार्यालयसम्म पुग्न समय, खर्च तथा अन्य कठिनाइ भोगिरहेका सेवाग्राहीका लागि यो व्यवस्था उपयोगी हुने विश्वास गरिएको छ । अनुमतिपत्र हस्तान्तरण कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ का वडाध्यक्ष मकेश्वर यादव, वडा नं. ५ का वडाध्यक्ष जिवछ मण्डल, वडा नं. ७ का वडाध्यक्ष मुवारक कवारी, वडा नं. ९ का वडाध्यक्ष अवध किशोर यादव र वडा नं. १० का वडाध्यक्ष रामपदार्थ यादवको उपस्थिति रहेको थियो । स्थानीय तह र यातायात व्यवस्था कार्यालयबीचको समन्वयमा गरिएको यस पहलले सार्वजनिक सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउने प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech