दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषाको महेन्द्रनगरमा दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’को फाइनल प्रतियोगिता आज विधिवत् रूपमा सम्पन्न भएको छ ।

दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजनको फेसबुक पेजलगायत विभिन्न सामाजिक सञ्जालबाट एकसाथ प्रसारण हुँदै आएको करिब एक महिने प्रतियोगिता आज असोज १९ गते फाइनल प्रतियोगिता सँगै सम्पन्न भएको हो ।
मिति २०८३ भदौ २४ गते बुधबारदेखि सुरु भएको प्रतियोगितामा धनुषा जिल्लाका १६ ओटा विद्यालयहरूको सहभागिता रहेको थियो । विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका श्री क्षिरेश्वर माध्यमिक विद्यालय, महेन्द्रनगर र श्री गंगोत्री बोर्डिङ स्कुल, महेन्द्रनगर बीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो ।
फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै श्री क्षिरेश्वर माध्यमिक विद्यालय, महेन्द्रनगर प्रथम स्थान हासिल गर्न सफल भएको छ भने श्री गंगोत्री बोर्डिङ स्कुल, महेन्द्रनगर दोस्रो स्थानमा रहन सफल भएको छ ।
प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण समारोहमा कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी ईश्वरी अधिकारी र मितलाल गिरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको श्री क्षिरेश्वर माध्यमिक विद्यालयका छात्रा प्रेरणा ठाकुर र छात्र सचिन कुमार साहलाई दोस्रो स्थान प्राप्त गरेको गंगोत्री बोर्डिङ स्कुलका प्रतिनिधि सचेता नन्द सिंहको हातबाट मायाको चिनोस्वरूप उपहार प्रदान गरिएको थियो ।
त्यस्तै, प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको श्री गंगोत्री बोर्डिङ स्कुलका छात्रा यूदृष्टिका प्रधान र छात्र शिवनाथ यादवलाई प्रथम स्थान प्राप्त गरेको श्री क्षिरेश्वर माध्यमिक विद्यालयका प्रतिनिधि उमेश यादवको हातबाट मायाको चिनोस्वरूप उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले विद्यार्थीहरूको प्रतिभा पहिचान, ज्ञान अभिवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । विद्यालयस्तरमा सीमित विद्यार्थीको ज्ञानलाई जिल्ला तहमा प्रतिस्पर्धा गराउने वातावरण निर्माण गर्नु सकारात्मक प्रयास भएको भन्दै उहाँले आयोजक दुधमती मिडियालाई धन्यवाद व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिहरू ईश्वरी अधिकारी र मितलाल गिरीले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै सामान्य ज्ञान, समसामयिक विषय र तत्काल निर्णय गर्ने क्षमताको विकासमा सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा पनि यस्ता रचनात्मक तथा ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक, अतिथि, सहयोगी तथा प्रतियोगितालाई प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत हेरेर साथ दिने सम्पूर्ण दर्शक–स्रोताप्रति आयोजक दुधमती मिडिया प्रा.लि.ले आभार व्यक्त गरेको छ ।
करिब एक महिनासम्म सञ्चालन भएको ‘महासंग्राम’ लाई उदघोषकको रुपमा साथ सहयोग गर्ने किरण गिरी, अडियो, भिडियो, प्राविधिक रुपमा साथ सहयोग गर्ने अवधेश साह, आयूषा खातुन, सुरेश प्रसाद सिंह र राहुल कुमार महतोलाई मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
दुधमती एफ.एम. १०४ मेगाहर्ज र दुधमती टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत एकसाथ प्रसारित यस प्रतियोगिताको फाइनलसँगै ‘जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्राम’को यस वर्षको यात्रा औपचारिक रूपमा सम्पन्न भएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग