महेन्द्रनगर, धनुषा । दुर्गा प्रसाईलाई रिहा गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने तथा १४ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको जनकपुर अञ्चल कमिटीको आयोजनामा बिहीबार ढल्केवरमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले विभिन्न मागसहितका नाराबाजी गर्दै ढल्केवर बजारका विभिन्न भागको परिक्रमा गरेका थिए । जनकपुर अञ्चल प्रवक्ता हरदेव महतोको अगुवाइमा निकालिएको प्रदर्शन ढल्केवरको विभिन्न स्थान हुँदै मेनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागी वक्ताहरूले दुर्गा प्रसाईलाई तत्काल रिहा गर्नुपर्ने, राज्यका तर्फबाट हुने भनिएको दमन तथा आतंक अन्त्य गर्नुपर्ने र अभियानसँग सम्बन्धित १४ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेका थिए । उनीहरूले नागरिकका अधिकार, राष्ट्रियता, धर्म तथा संस्कृति संरक्षणका विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले आफ्ना माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेका थिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech