महेन्द्रनगर, धनुषा । धनुषाको मिथिला नगरपालिका–२, नक्टाझिजस्थित सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रितलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख महतोले संस्थाको आय–व्यय विवरण तथा आर्थिक प्रगतिको प्रशंसा गर्दै सञ्चालक समितिको कुशल व्यवस्थापनका कारण सहकारीको कारोबार प्रगतितर्फ अघि बढिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय केही सहकारी संस्थामा रकम अपचलन, अपारदर्शी हिसाब–किताब तथा सञ्चालक समिति सम्पर्कविहीन हुनेजस्ता घटनाका कारण सहकारीप्रति जनविश्वास घटिरहेको अवस्थामा पनि सामुदायिक कृषि सहकारी संस्थाप्रति सदस्यको विश्वास र आकर्षण बढ्नु संस्थाको महत्वपूर्ण सफलता भएको बताउनुभयो । यस्तै, संस्थाका अध्यक्ष रितलाल महतोले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्था पूर्ण पारदर्शिताका साथ सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले संस्थाको रकममा कुनै किसिमको अनियमितता वा अपचलन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साधारणसभामा संस्थाका प्रबन्धक ललित कुमार महतोले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक आय–व्यय तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा ३४ लाख २० हजार ६ सय ७ रुपैयाँ शुद्ध नाफा आर्जन गरेको छ । त्यस्तै, उक्त आर्थिक वर्षमा संस्थाको कुल आम्दानी ८९ लाख ३३ हजार ७ सय ३८ रुपैयाँ रहेको छ भने विभिन्न शीर्षकमा ५५ लाख १३ हजार १ सय ३० रुपैयाँ खर्च भएको वित्तीय प्रतिवेदनमा उल्लेख छ । संस्थाले हालसम्म ५ करोड ७३ लाख ५५ हजार ६ सय ४७ रुपैयाँ बचत संकलन गरेको छ भने ६ करोड ९२ लाख १५ हजार ६ सय ८३ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । आर्थिक वर्ष २०८२÷०८३ सम्म संस्थाको शेयर पूँजी ७६ लाख ८१ हजार ६ सय रुपैयाँ पुगेको छ । साधारणसभामा प्रस्तुत आय–व्यय प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा प्रस्तावित वार्षिक कार्यक्रम र बजेट छलफलपछि पारित गरिएको अध्यक्ष रितलाल महतोले जानकारी दिनुभयो । सामुदायिक कृषि सहकारी संस्थामा हाल ४ सय ३० जना महिला र ४ सय ७७ जना पुरुष गरी कुल ९ सय ७ जना सदस्य रहेका छन् । संस्थाका प्रबन्धक ललित कुमार महतोका अनुसार संस्थाको ऋण असुली दर ९९ प्रतिशत रहेको छ । १५औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कारोबार तथा अनुशासन कायम गर्ने ३ जना उत्कृष्ट ऋणी र ३ जना उत्कृष्ट नियमित बचतकर्तालाई विभिन्न सामग्रीसहित सम्मान गरेको छ । साधारणसभामा मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो, हिमालय युवा क्लबका संरक्षक अरुणकुमार महतो, क्षीरेश्वर सहकारी संस्थाका जगदीश प्रसाद सिंह लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको प्रगति तथा सदस्यको हितमा संस्थाले गर्दै आएको कामको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, शेयरधनी, बचतकर्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सामुदायिक कृषि सहकारी संस्थाले १५औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार बिहान रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने रक्तदातालाई संस्थाले सम्मानसमेत गरेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी अतिथि, शेयरधनी, बचतकर्ता तथा उपस्थित सम्पूर्ण सहभागीलाई संस्थाका उपाध्यक्ष किरण कुमारी महतोले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन टेक कुमार महतोले गर्नुभएको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech