दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगर चौक बजारमा श्री श्री १०८ श्री इन्द्र पूजा मेला धुमधामका साथ सुरु भएको छ । मेलाको आश्विन ९ गते नेकपा एमाले क्षिरेश्वरनाथ नगर कमिटीका नगर अध्यक्ष तथा युवा नेता अनिल कुमार चौधरीले विधिवत् उद्घाटन गरेका छन ।
महेन्द्रनगर चौक बजारमा आयोजना भइरहेको मेलालाई भव्य र मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमसँगै रामझुला लगायतका मनोरञ्जनका साधनहरू समेत ल्याइएको आयोजकले जनाएको छ । मेलामा स्थानीय तथा आसपासका क्षेत्रबाट सर्वसाधारणको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ ।
मेलाको उद्घाटन कार्यक्रममा मेला अध्यक्ष बिहारी यादव, स्थानीय कल्पना फार्मेसीका सञ्चालक कृष्ण यादव, स्थानीय युवा अरुण यादव, सतीश कुमार झा, हरि राउत लगायत स्थानीय युवाहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उद्घाटनकर्ता अनिल कुमार चौधरीले इन्द्र पूजा मेला धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वसँग जोडिएको स्थानीय उत्सव भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले मेला मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने अवसरसमेत भएको उल्लेख गर्नुभयो ।
उहाँले मेलालाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न आयोजक तथा स्थानीय युवाहरूलाई आग्रह गर्दै, मेलामा आउने बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा सम्पूर्ण दर्शकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै स्थानीय स्तरमा हुने यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले सामाजिक सद्भाव र आपसी भाइचारालाई थप मजबुत बनाउने उहाँको भनाइ थियो ।
मेला अवधिभर सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि तथा रामझुला लगायतका आकर्षणहरू सञ्चालन हुने भएकाले महेन्द्रनगर चौक बजारमा चहलपहल बढ्ने देखिएको छ । आयोजकले मेला अवलोकन तथा मनोरञ्जनका लागि स्थानीय तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग