महेन्द्रनगर, धनुषा । दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज र दुधमती टेलिभिजन फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणको तेस्रो दिन प्रतियोगिताबाट बाहिरिएका विद्यार्थीहरुलाई सम्मानसहित विदाई गरिएको छ । प्रतियोगिताको तेस्रो दिनको प्रतिस्पर्धापछि कार्यक्रमबाट विदा भएका विद्यार्थीहरुलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी किरण गिरीको हातबाट सम्मान सहित विदाई गरिएको हो । प्रतियोगिताबाट बाहिरिए पनि विद्यार्थीहरुको सहभागिता, ज्ञान र उत्साहको सम्मान गर्दै विदाई गरिएको आयोजकले जनाएको छ । विद्यार्थीहरुलाई सम्मानसहित विदाई गर्ने कार्यक्रमले प्रतियोगितामा सहभागी विद्यार्थीहरुको मनोबल बढाउनुका साथै शैक्षिक तथा बौद्धिक गतिविधिमा थप प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । यसैबीच, आश्विन ७ गते जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणअन्तर्गत श्री मा.वि. रमदैया भवाडी र जन ज्योति बोर्डिङ स्कुल, महेन्द्रनगरबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजन फेसबुक पेजबाट एकसाथ प्रसारण हुने आयोजक दुधमती मिडिया प्रा.लि., क्षिरेश्वरनाथ नगरपालिका–महेन्द्रनगर, धनुषाले जनाएको छ । प्रतियोगितालाई “सुन्नुहोस्, हेर्नुहोस् र साथ दिनुहोस” भन्ने नाराका साथ अगाडि बढाइएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech