“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद“ भन्ने मूल नाराका साथ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको १० औं स्वर्गीय रामपृत यादव धनुषा जिल्ला स्तरीय खुला पुरुष फुटबल प्रतियोगिता–२०८३ शनिबार सम्पन्न भएको छ । धनुषा–११ एकेडेमीको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगितामा यस वर्ष धनुषा तथा आसपासका जिल्लाका आठ वटा उत्कृष्ट टोली सहभागी भएका थिए । समापन समारोह स्वर्गीय रामपृत यादवकी धर्मपत्नी सुर्यकला देवीको अध्यक्षता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगिताको फाइनल खेल धनुषा–११ रातो टोली र धनुषा–११ निलो टोलीबीच भएको थियो । खेलमा रातो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ३–१ गोलको जित निकाल्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । म्यान अफ द म्याच निलो टोलीका कृष्ट भण्डारी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट रातो टोलीका दिपेश राई, बेस्ट डिफेन्डर रातो टोलीका रितिक श्रेष्ठ, बेस्ट गोलकिपर रातो टोलीका रोहन घिसिङ तथा हाइएस्ट गोल स्कोरर रातो टोलीका सञ्जीव कार्की घोषित हुँदै पुरस्कार प्राप्त गरेका थिए । विजेता टोलीलाई प्रथम पुरस्कार तथा ट्रफी प्रमुख अतिथि रघुवीर महासेठले प्रदान गर्नुभयो भने उपविजेता टोलीलाई दोस्रो पुरस्कार क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले प्रदान गर्नुभयो । उपविजेता ट्रफी स्थानीय तुलसी फर्निचरका सञ्चालक सञ्जय साहले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले खेलकुदले अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्वर्गीय रामपृत यादवको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिताले धनुषा जिल्लामा फुटबल खेलको विकाससँगै नयाँ प्रतिभा उत्पादन गर्न उल्लेखनीय योगदान पु¥याएको धारणा राख्नुभयो । महासेठले युवाहरूलाई कुलत र विकृतिबाट जोगाउन खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्थानीय तह, खेल संस्था र सरोकारवालाले खेल पूर्वाधार निर्माण तथा नियमित प्रतियोगिता सञ्चालनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले खेलाडीहरूलाई मेहनत, अनुशासन र खेलभावनासहित अघि बढ्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको नाम चिनाउने गरी उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, नेकपा (एमाले) क्षिरेश्वरनाथ नगर अध्यक्ष अनिल चौधरी, प्रदेश सभा सदस्य पल्टी देवी यादव, वडा नं. ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, पूर्व वडा अध्यक्ष श्याम यादव, युवा नेता महेन्द्र यादव लगायत जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजक धनुषा–११ एकेडेमीले प्रतियोगिताले जिल्लामा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा युवालाई खेलप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । आगामी वर्ष पनि प्रतियोगितालाई अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गरिने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech