दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर (धनुषा), साउन २४ ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा १० औं स्वर्गीय रामपृत यादव धनुषा जिल्ला स्तरीय खुला पुरुष फुटबल प्रतियोगिता–२०८३ शनिबारदेखि विधिवत् सुरु भएको छ ।
धनुषा–११ एकेडेमीको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगितामा यस वर्ष धनुषा तथा आसपासका जिल्लाका आठ वटा उत्कृष्ट टोली सहभागी भएका छन् । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवामा अनुशासन र खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोह स्वर्गीय रामपृत यादवकी धर्मपत्नीको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उद्घाटन समारोहमा उपस्थित मेयर यादवले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक मार्गतर्फ उन्मुख गराउने उल्लेख गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्दै आएको बताए । आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई आवश्यक सहयोग र प्रोत्साहन उपलब्ध गराइने उनले प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन खेलमा जयसी बाबा भेटरान्स महेन्द्रनगर र मर्निङ स्टार फुटबल क्लब जनकपुर बीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै जयसी बाबा भेटरान्स महेन्द्रनगरले एक गोलको अग्रता कायम गरी उद्घाटन खेलमा विजयी बनेको आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा उत्कृष्ट गोलरक्षण गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका जयसी बाबा भेटरान्सका गोलकिपरलाई म्यान अफ दि म्याच घोषित गरी सम्मान गरिएको थियो ।
क्षिरेश्वरनाथ नगरपालिकाको विशेष सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन आइतबार बन्दीपुर सिरहा र भरतपुर गौशाला, महोत्तरी बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । आयोजकले सम्पूर्ण खेलप्रेमी, दर्शक तथा स्थानीयवासीलाई खेल मैदानमा उपस्थित भई खेलको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ ।
उद्घाटन कार्यक्रममा स्थानीय तुलसी फर्निचर उद्योगका सञ्चालक संजय साह, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अवध किशोर यादव, विभिन्न क्लबका प्रतिनिधि, खेलप्रेमी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिता आगामी दिनहरूमा थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास आयोजकले व्यक्त गरेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग