दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा स्थापना गर्ने निर्णय भएको ट्रमा सेन्टर संघीय सरकारले अन्यत्र सार्ने तयारी गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ढल्केबरमै ट्रमा सेन्टर स्थापना गर्न माग गरेका हुन् ।
मिथिला नगरपालिका–ढल्केबरबाट आएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र बुझाउँदै ढल्केबरका लागि स्वीकृत ट्रमा सेन्टर अन्यत्र सार्ने कुनै पनि निर्णय तत्काल फिर्ता लिन र यथास्थानमै स्थापना प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।
ज्ञापनपत्रमा ढल्केबर पूर्व–पश्चिम राजमार्ग र पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई जोड्ने रणनीतिक केन्द्र भएकाले यहाँ दैनिक हजारौं सवारी साधन आवतजावत गर्ने र सडक दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा तत्काल आकस्मिक उपचार सेवा उपलब्ध गराउन ट्रमा सेन्टर अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।
स्थानीयले ट्रमा सेन्टर अन्यत्र सारिए यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा गम्भीर असर पर्ने, दुर्घटनामा परेका बिरामीको समयमै उपचार नपाउँदा मानवीय क्षति बढ्न सक्ने तथा यसअघि सरकारले गरेको निर्णयप्रति जनविश्वास कमजोर हुने चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा सहभागीहरूले सरकारले जनभावनाको सम्मान गर्दै ढल्केबरमै ट्रमा सेन्टर स्थापना गर्ने निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले यस विषयमा सकारात्मक निर्णय नभए थप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग