महेन्द्रनगर (धनुषा), साउन २१ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, क्षिरेश्वरनाथ नगरपालिका तथा लाभग्राहीहरूको लागत साझेदारीमा सञ्चालित विद्युतीय चुलो र सुधारिएको चुलो वितरण कार्यक्रम आजबाट सुरु भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नगर प्रमुख सुखदेव यादवले लाभग्राहीहरूलाई विद्युतीय तथा सुधारिएको चुलो हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले स्वच्छ, सुरक्षित र वातावरणमैत्री ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले परम्परागत दाउरा तथा धुवाँयुक्त चुलोको प्रयोगले स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने भएकाले विद्युतीय तथा सुधारिएको चुलोको प्रयोग समयको आवश्यकता भएको उल्लेख गर्नुभयो । नगर प्रमुख यादवले “वैकल्पिक ऊर्जाको प्रयोगले घरपरिवारको स्वास्थ्य सुधार हुनुका साथै वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्छ । नगरपालिकाले नागरिकको जीवनस्तर उकास्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ । विद्युतीय तथा सुधारिएको चुलोको सही प्रयोग र संरक्षण गरी यसको अधिकतम लाभ लिन म सम्पूर्ण लाभग्राहीहरूलाई आग्रह गर्दछु । उहाँले नगरपालिकाले स्वच्छ ऊर्जा, वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै यस्ता योजनामा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । कार्यक्रमअन्तर्गत छनोट भएका लाभग्राहीहरूलाई लागत साझेदारीको आधारमा विद्युतीय चुलो तथा सुधारिएको चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यक्रमबाट घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच विस्तार हुनुका साथै दाउराको प्रयोग घट्ने, धुवाँजन्य स्वास्थ्य समस्या न्यूनीकरण हुने र वन संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधि तथा लाभग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech