दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारी निवास ‘गणभवन’लाई ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’मा रूपान्तरण गरिएको छ । बुधबार राजधानी ढाकाको शेर–ए–बांग्ला नगरस्थित गणभवनमा आयोजित विशेष समारोहबीच उक्त संग्राहलयको उद्घाटन गरिएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले संग्राहलयको उद्घाटन गरेका हुन् । सन् २०२४ को जुलाई–अगस्ट महिनामा भएको छात्र आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा यो स्मारक संग्राहलय स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रम ५ अगस्टकै दिन आयोजना गरिएको हो । यही मितिमा सन् २०२४ मा व्यापक विरोध प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएकी थिइन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले फेब्रुअरी २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार १५ जुलाईदेखि १५ अगस्ट २०२४ सम्म चलेको छात्र आन्दोलन, जसलाई ‘जुलाई जनविद्रोह’ भनिन्छ, का क्रममा करिब १,४०० नागरिकको मृत्यु भएको थियो ।
प्रतिवेदनमा तत्कालीन हसिना सरकारले प्रदर्शनकारीमाथि सुरक्षा निकायमार्फत अत्यधिक बल प्रयोग गरेको उल्लेख गरिएको छ । सरकारी सेवामा रहेको आरक्षण प्रणालीको विरोधबाट सुरु भएको आन्दोलन देशव्यापी बनेपछि शेख हसिनाले ५ अगस्ट २०२४ मा देश छाड्न बाध्य भएकी थिइन् ।
हसिनाले देश छाडेको तीन दिनपछि मोहम्मद युनुसले अन्तरिम सरकारको मुख्य सल्लाहकारका रूपमा जिम्मेवारी सम्हालेका थिए । युनुस नेतृत्वको अन्तरिम सरकारले नै गणभवनलाई संरक्षण गर्दै ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’का रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग