महेन्द्रनगर (धनुषा), धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा यही श्रावण २३ गतेदेखि १० औं स्वर्गीय रामपृत यादव धनुषा जिल्ला स्तरीय खुला पुरुष फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । धनुषा–११ एकेडेमीको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा धनुषा जिल्लाका विभिन्न पालिका तथा क्लबका उत्कृष्ट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत जिल्लामा फुटबल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको छ । प्रतियोगिता क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित क्षिरेश्वर मा.वि.को खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डर लगायत विभिन्न विधामा समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय खेलप्रेमी, खेलाडी तथा सर्वसाधारणलाई प्रतियोगिताको उद्घाटन समारोह तथा खेल अवलोकन गरी सफल बनाउन आयोजकले आग्रह गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech