जनकपुरधाम , मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ को जेठ २१ गतेसम्म कुल विनियोजित बजेटको १९.४ प्रतिशत मात्र खर्च गर्न सकेको छ। प्रदेश सरकारको वित्तीय विवरणअनुसार ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको कुल बजेटमध्ये हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ खर्च भएको हो। अर्थ मन्त्रालयका अनुसार कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार रुपैयाँ र पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार रुपैयाँ खर्च भएको छ। अर्थमन्त्री युवराज भट्टराई ले खर्च विवरण सार्वजनिक गर्दै प्रदेश सरकारको खर्च प्रगति अपेक्षाअनुसार हुन नसकेको संकेत गरेका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ १३ गतेसम्म कुल खर्च ८ अर्ब ७५ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको थियो। त्यसपछि आठ दिनको अवधिमा खर्चमा ३६ करोड ४२ लाख रुपैयाँले वृद्धि भएको देखिएको छ। यस अवधिमा चालु खर्च करिब ९ करोड ७४ लाख रुपैयाँले बढेको छ भने पुँजीगत खर्चमा करिब १८ करोड ७८ लाख रुपैयाँको वृद्धि भएको मन्त्रालयले जनाएको छ। यद्यपि आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी रहँदा पनि बजेट खर्चको दर २० प्रतिशतभन्दा कम रहनुले प्रदेश सरकारको विकास खर्च कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ। अर्थमन्त्री युवराज भट्टराईले जिम्मेवारी सम्हालेयता प्रदेशको खर्च अवस्थाबारे पारदर्शिता कायम गर्ने उद्देश्यले साप्ताहिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन्। सरकारको खर्च प्रगति, राजस्व संकलन तथा बजेट कार्यान्वयनको अवस्थाबारे नियमित जानकारी सार्वजनिक गर्ने अभ्यासलाई सकारात्मक रूपमा हेरिएको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग