भक्तपुर ,भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै एक महिलाको हत्या भएको छ। प्रहरीका अनुसार काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई हाल आर्मी ब्यारेक पछाडि डेरा गरी बस्दै आएकी ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सलिनाको हत्या उनकै श्रीमान् ३८ वर्षीय विदुर विश्वकर्माले गरेका हुन्। घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ। बुधबार बेलुकी करिब ७ः४५ बजे घरायसी विवाद चर्किएपछि विदुरले सलिनामाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए। दुःखद् घटनाका क्रममा आमा–बुवाबीचको झगडा छुट्याउन गएका उनीहरूका ८ वर्षीय छोरा पनि घाइते भएका छन्। बालकको शरीरमा खुकुरी प्रहारबाट चोट लागेको भए पनि उपचारपछि उनलाई भक्तपुर अस्पतालबाट डिस्चार्ज गरिएको छ। हाल बालकलाई प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काको नेतृत्वमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै प्रमाण संकलन गरी घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ भने प्रहरीले घटनासम्बन्धी थप तथ्यहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech