महेन्द्रनगर, धनुषा । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ले पहिलो पटक यस क्षेत्रमै नागरिकको घर–घरमा पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सञ्चालन गर्ने भएको छ । कार्यक्रम अन्तर्गत अनुभवी स्वास्थ्यकर्मीहरू नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछन् । उक्त सेवाको प्रभावकारी सञ्चालनका लागि आयोजित एकदिने तालिम सम्पन्न भएपछि नगर प्रमुख सुखदेव यादव ले स्वास्थ्यकर्मीहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले घर–घरमै स्वास्थ्य सेवा पु¥याउने अभियानले विशेष गरी ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोजकका अनुसार उक्त कार्यक्रम मिति २०८३ जेठ २१ गते बिहान १० बजेदेखि वडा नं. १ र वडा नं. २ को कार्यालयबाट औपचारिक रूपमा शुभारम्भ गरिनेछ । अभियान अन्तर्गत स्वास्थ्यकर्मीको टोलीले घरदैलोमै पुगेर स्वास्थ्य अवस्था परीक्षण, आवश्यक परामर्श तथा आधारभूत औषधि वितरण गर्नेछ । नगरपालिकाले सञ्चालन गर्न लागेको यस नवीन कार्यक्रमलाई स्थानीयवासीले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन् । नागरिकको घर–घरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित सुरु हुन लागेको यो अभियानले स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण स्थापित गर्ने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech