महेन्द्रनगर, धनुषा
क्षिरेश्वरनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित ‘नगर प्रमुखसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख दिपक खत्री, नगर शिक्षा समिति सदस्य सुर्य नारायण यादव, सुरेश यादव, योजना शाखा प्रमुख अजय कुमार यादव तथा शिक्षा शाखाका कासिम राईनको उपस्थिति रहेको थियो ।
नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा प्रत्येक विद्यालयबाट छात्र र छात्रासहित पाँच जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा भोगिरहेका विभिन्न समस्या, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, खानेपानी, शौचालय, खेलकुद सामग्री, पुस्तकालय तथा सूचना प्रविधिसम्बन्धी विषयमा जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूले उठाएका प्रश्न तथा समस्याहरूको जवाफ नगर प्रमुख सुखदेव यादवले क्रमिक रूपमा दिनुभएको थियो भने शिक्षा प्रशासन तथा शैक्षिक व्यवस्थापनसँग सम्बन्धित विषयमा शिक्षा शाखा प्रमुख दिपक खत्रीले जानकारी तथा स्पष्टीकरण प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले विद्यार्थीहरू नै राष्ट्रका भविष्य भएकाले उनीहरूको आवाज सुन्न र समस्या समाधान गर्न नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यालयमा गुणस्तरीय शिक्षा, अनुशासन, प्रविधिमैत्री सिकाइ वातावरण तथा विद्यार्थीमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो ।
उपस्थित अतिथि, शिक्षक तथा सरोकारवालाहरूले यस्तो कार्यक्रममार्फत विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्ना समस्या तथा सुझाव स्थानीय सरकारसमक्ष राख्न पाउने अवसर सिर्जना भएको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले विद्यार्थी र स्थानीय सरकारबीचको सम्बन्ध अझ सुदृढ बनाउन तथा शैक्षिक क्षेत्रका समस्या समाधानमा यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै आयोजकले विद्यार्थीहरूबाट प्राप्त सुझाव र गुनासाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आगामी दिनमा पनि यस्ता सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग