महेन्द्रनगर, धनुषा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा सञ्चालन भइरहेको महिलामुखी तरकारी खेती तालिमको नगर प्रमुख सहितको टोलीले अनुगमन गरेको छ । स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत वडा नं. १० हारसर टोलमा सञ्चालन भइरहेको उक्त तालिमको नगर प्रमुख सुखदेव यादव, उप प्रमुख रचना श्रेष्ठ माथेमा, नि. प्रमुख प्रशासकीय अधिकृत राम बहादुर यादव, लेखा शाखा प्रमुख प्रमोद घिमिरे तथा महिला बालबालिका शाखा प्रमुख विन्दा शर्मा लगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख यादवले महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले यस्ता सीपमूलक तालिम सञ्चालन गरिएको बताए । उनले “तरकारी खेती जस्तो व्यावहारिक सीपले महिलाहरुको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ,” भन्दै तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उप प्रमुख माथेमाले महिलाहरुको आर्थिक सशक्तीकरणका लागि नगरपालिकाले विभिन्न आयमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताइन् । उनले “घरमै बसेर पनि आम्दानी गर्न सकिने भएकाले तरकारी खेती महिलाका लागि प्रभावकारी माध्यम बन्न सक्छ,” भन्दै सहभागीहरुलाई व्यावसायिक खेतीतर्फ अघि बढ्न प्रेरित गरिन् । त्यसैगरी नि. प्रमुख प्रशासकीय अधिकृत यादवले तालिमलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले तालिमपछि पनि आवश्यक प्राविधिक सहयोग र समन्वयका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । मिति २०८२ जेठ ११ गतेदेखि सुरु भएको उक्त तालिम जेठ १५ गतेसम्म सञ्चालन हुने कार्यक्रम सञ्चालन संस्था ग्रामिण क्षेत्र विकास केन्द्रका प्रतिनिधीले जानकारी दिएका छन् । तालिममा सहभागी महिलाहरुलाई आधुनिक तरकारी खेती, मलखाद व्यवस्थापन, बीउ छनोट तथा व्यावसायिक उत्पादन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिँदैछ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech