सिरहा,
बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । आन्दोलनका क्रममा नागरिकहरूले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुत्ला दहनसमेत गरेका छन् । स्थानीयवासी र व्यवसायीहरूले भन्सार कार्यालय पुनःस्थापनाको माग गर्दै सडक आन्दोलन जारी राखेका छन् । प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजीसमेत गरिएको थियो । आन्दोलित पक्षका अनुसार छोटी भन्सार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी तथा राजस्व संकलनमा गम्भीर असर परेको छ । सीमा क्षेत्रमा निगरानी कमजोर हुँदा तस्करी बढ्न सक्ने जोखिमसमेत उनीहरूले औंल्याएका छन् । मंगलबार साँझ निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीय सहभागी भएका थिए । आन्दोलनकारीहरूले निर्णय तत्काल फिर्ता नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । वडा नम्बर ३ का अध्यक्ष तथा आन्दोलन संयोजक विनोद यादव ले जनहितविपरीत निर्णय स्वीकार्य नहुने बताएका छन् । आवश्यक परे पदबाट राजीनामा दिन तयार रहेको उनको भनाइ छ । स्थानीय व्यापारी चन्देश्वर यादव का अनुसार भन्सार सञ्चालनका लागि स्थानीयले अनुदानमा जग्गा उपलब्ध गराएका थिए । उक्त भन्सारबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको उनले बताए । स्थानीय अगुवाहरूले माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग